I'm building a clean energy economy from the bottom up and the middle out.
— President Biden (@POTUS) September 14, 2022
आफ्नै नेतृत्वको क्रान्तिले जसलाई निल्यो रुसी राष्ट्रपति बरिस येल्तसिनले गोर्बचोवलाई अपमानित गर्न कुनै कसर बाँकी राखेनन् । येल्तसिनको मात्र के कुरा गर्नु, सन् १९९६ मा रुसी राष्ट्रपतिको चुनावमा उठ्दा गोर्बचोवलाई जम्मा ०.५५ प्रतिशत मत दिएर नागरिकले पनि अपमानित गरिदिए ! ....... १९८५ को मार्च १० मा ७३ वर्षीय पार्टी महासचिव कन्स्तान्टिन चेर्नेको निधन भयो । २८ महिनाको अवधिमा लियोनिद ब्रेज्नेभ र युरी आन्द्रोपोभपछि निधन हुने उनी तेस्रो पार्टी महासचिव थिए । नेताले अस्पतालको शय्याबाट सत्ता चलाउनुपर्ने दुश्चक्र तोड्नुपर्ने, पाको र रोगले जीर्ण भैसकेको नेताको सट्टा युवालाई नेतृत्वमा ल्याउनुपर्ने दबाबमा सोभियत कम्युनिस्ट पार्टी थियो । यसैले त पार्टीको पोलिटब्युरो बैठकमा चार घण्टाको छलफलबाटै ५४ वर्षका गोर्बचोव पार्टी महासचिव चुनिए । ....... २८ वर्ष विदेशमन्त्री रहेका र पश्चिमी दुनियाँमा ‘मिस्टर नो’ भनेर चिनिने आन्द्रेई ग्रोमिकोलाई मन्त्रालयबाट बाहिर जाने बाटो देखाइदिएर गोर्बचोवले एडवार्ड सेभेर्दनाद्जेलाई विदेशमन्त्री नियुक्त गरे । क्यानडाका लागि सोभियत राजदूत अलेक्सान्द्र याकोभ्लेवलाई फिर्ता बोलाई सुधारवादी कार्यक्रमको प्रमुख योजनाकार बनाइयो । ........ जीर्ण–शीर्ण भैसकेको सोभियत अर्थतन्त्र ठोकठाके मरम्मतले अघि बढ्ने देखिएन, त्यसले पूरै ‘ओभरहल’ माग गरिरहेको थियो । अनि सन् १९८६ को सत्ताइसौं पार्टी कांग्रेस बैठकमा गोर्बचोवको ‘सिग्नेचर पोलिसी’ घोषणा भयो— ‘पेरेस्त्रोइका र ग्लासनोस्त’ । ........... सन् १९८५ सम्म सोभियत संघमा सबैभन्दा बढी राजस्व संकलन मदिरा उत्पादन र बिक्रीबाट हुने गर्थ्यो । ‘सुक्खा कानुन’ लागू भएपछि मदिरा बिक्रीबाट संकलन हुने राजस्वमा ह्रास आएकाले यसै पनि कमजोर सोभियत अर्थतन्त्र झनै असन्तुलित हुन पुग्यो । मनमौजी भएर मापसे गर्न नपाउँदा रुसीहरू यसै पनि रन्थनिएका थिए । अल्कोहलको सट्टा मिनरल वाटर सेवन गर्नुपरेको झोंकमा गोर्बचोवलाई कम्युनिस्ट पार्टी अफ द सोभियत युनियन (सीपीएसयू) को ‘जेनेरल सेक्रेटरी’ नभनेर ‘मिनरल सेक्रेटरी’ भन्न थाले । यति सबै भैसकेपछि ‘सुक्खा कानुन’ मार्फत एक कदम अघि बढेका गोर्बचोव दुई वर्षपछि नै लेनिनले भनेझैं दुई कदम पछि हटे, सन् १९८७ मा यो अभियान फिर्ता लिइयो । ......... हजारौं सोभियत सैनिक मुजाहिद्दिनसँगको युद्धमा हताहत हुँदा सोभियत नागरिक चरम निराशामा थिए- भियतनाम युद्धले अमेरिकीमा ल्याएको बेचैनीजस्तै । आर्थिक रूपले पनि सोभियत संघलाई यो हस्तक्षेप निकै भारी हुँदै गइराखेको थियो । गोर्बचोवले अफगानिस्तानबाट बिनासर्त सोभियत सेना फिर्ता गर्ने निर्णय गरे । सोभियत संघको राम्रो पकड रहेका हंगेरी, पोल्यान्ड, चेकोस्लोभाकिया र पूर्वी जर्मनीमा रक्तपातरहित भेल्विट कलर रेभोलुसन (मखमली क्रान्ति) सुरु भयो । पहिलेको सोभियत सत्ताले झैं ती देशहरूमा हस्तक्षेप गर्न गोर्बचोव इच्छुक देखिएनन् । .......... ‘सीपीएसयूको महासचिव पदमा चुनिनुअघिसम्म उनले कुनै त्यस्तो योजना वा भिजन अघि सारेकै थिएनन् ।’ हुन पनि त्यसअघिसम्म उद्धृत गर्नलायक उनको कुनै विचार र सिद्धान्त फेला पार्न सकिन्न । यसैले कतिपयले उनलाई भिजनरहित नेताको उपमा पनि दिने गरेका छन् । ‘ताक दाल्से नी पाइद्योत’ अर्थात् यसै गरी अब अघि बढ्न सकिन्न उनको चर्चित नारा थियो । अगाडि जाने कसरी ? त्यसका निम्ति उनको न कुनै अन्तर्दृष्टि देखियो न तयारी नै । सुधार उनी अवश्य चाहन्थे तर गन्तव्यको पहिचान गर्न सकेनन् । उनी कुशल वक्ता थिए, घण्टौं धाराप्रवाह बोल्न सक्थे । तर भाषणहरू बहुधा अस्पष्ट हुन्थे । जसरी देङ स्याओपिङले आर्थिक सुधारमा मात्रै केन्द्रित भई अजंगको जनसंख्या रहेको चीनको व्यवस्थापन गरे, गोर्बचोवले त्यो बाटो पहिल्याउन नसकेकै हुन् । ............ घटनाक्रमले सत्ताबाट बाहिरिएपछि अपमान खेपेर पनि गोर्बचोव पलायन भई अन्यत्र निर्वासित हुन चाहेनन् । सोभियत संघ विघटनको पूर्वसन्ध्या र त्यसपछि पनि रुसी राष्ट्रपति बरिस येल्तसिनले उनलाई ठोसेको ठोस्यै गरे । उनलाई लाजमर्दो हुने गरी पेन्सन भत्ता उपलब्ध गराइयो, जम्मा ४ हजार रुबल । सन् १९९४ को विनिमय दरबमोजिम त्यो रकम केवल १.३ अमेरिकी डलर हुन्थ्यो । उनको कूटनीतिक पासपोर्ट खोसियो । यतिसम्म कि, उनले सुरु गरेको गोर्बचोव फाउन्डेसनलाई समेत येल्तसिनले केही समय प्रतिबन्ध लगाएका थिए । ......... १९९१ को मार्चमा सोभियत संघमा जनमतसंग्रह गराइयो । जनमतसंग्रहमा नयाँ सोभियत संघको अवधारणाअनुरूप राज्यको नाम ‘यूएसएसआर’ नै रहे पनि सोभियत समाजवादी गणतान्त्रिक संघको सट्टा ‘सोभियत सार्वभौम गणतान्त्रिक संघ’ रहने प्रस्तावलाई ७७.५ प्रतिशत जनताले समर्थन गरे । यद्यपि त्यस जनमतसंग्रहलाई १५ वटा सोभियत गणराज्यमध्ये ६ वटा गणराज्य लिथवानिया, लाटभिया, येस्तोनिया, जर्जिया, अर्मेनिया र माल्दोभाले बहिष्कार गरेका थिए । ............. नयाँ संघीय सन्धिमा हस्ताक्षर गरेपछि सोभियत संघको अस्तित्व नै मेटिन्छ भन्ने डरले कट्टरपन्थी गुट सक्रिय हुन थाल्यो । गोर्बचोव छुट्टीबाट फर्केर मस्को आउनुअघि नै उनलाई अपदस्थ गर्न सकेमा सोभियत गणराज्यहरूलाई नयाँ सन्धि गर्नबाट बचाउन सकिन्छ भन्ने सोचले यो समूहले योजना बनाउन थाल्यो । गुटका प्रमुख योजनाकार तत्कालीन केजीबी प्रमुख भ्लादिमिर क्र्युच्कोभ भए पनि उनको योजनालाई समर्थन गर्ने गोर्बचोवनजिकका धेरै मित्र थिए । ............ गोर्बचोव सिकिस्त बिरामी भएका र कार्यभार वहन गर्न नसक्ने अवस्थामा रहेकाले उनलाई पदमुक्त गरी राज्यमा आपत्कालीन अवस्था घोषणा गर्नुपरेको भन्दै गर्दा गेन्नाडी येनाएभले हात कमाएको दृश्य देख्ने जोकोहीले पनि राज्य विप्लवकारीमा दम छैन भन्ने अनुमान गरिसकेका थिए । .......... येल्तसिनको सहयोगमा १९९१ अगस्त २१ का दिन गोर्बचोवलाई क्रिमियाबाट मस्को फिर्ता बोलाइयो । राज्य विप्लव योजना असफल भएपछि योजनाकारमध्येका एक गृहमन्त्री बरिस पुगोले आत्महत्या गरे भने बाँकी विप्लवकारीहरूलाई त्यसै दिन पक्राउ गरियो । यसरी कट्टरपन्थीहरूको राज्य विप्लव योजना ७२ घण्टा पनि नटिक्दै १९९१ अगस्त २१ का दिन पूरै विफल भयो । ...........कट्टरपन्थीहरूको षड्यन्त्र र सुधारवादीहरूको आक्रामक विरोधलाई उनले व्यवस्थित गर्न सकेनन् । येन–केन–प्रकारेण ७४ वर्षसम्म टिकाइएको शासन व्यवस्था भित्रभित्रै मक्किसकेको थियो । सोभियत संघ विघटनका धेरै कारण हुन सक्लान् तर विघटनको प्रमुख कारक सोभियत गणराज्यहरूको स्वायत्त हुन पाउने अधिकार र जातीय रूपमा विभाजन नै हो । ........ पूर्व सोभियत गणराज्य लगायत वार्सा सन्धि संगठनका अधिकांश देश अहिले युरोपियन युनियन र नाटो सैन्य गठबन्धनमा आबद्ध भइसकेका छन् । ........... गोर्बचोव अधिनायकवादी थिएनन्, नरम स्वभावका नेता थिए । पोलिटब्युरो सदस्य येल्तसिनसहितले विद्रोह सुरु गरेपछि सोभियत कम्युनिस्ट पार्टीको साबिक चलन अनुसार उनले पनि विरोधीलाई दमन गर्न सक्थे तर त्यस्तो केही गरेनन् । भिल्न्युस, बाकु, तब्लिसीमा छुटफुट घटना भए पनि सैनिक बलका भरमा विद्रोहीहरूलाई दबाउने प्रयास कहिल्यै गरेनन् । उनी खासमा शान्तिपूर्ण उपायबाट पुरानो शासन प्रणालीलाई व्यवस्थापन गर्न चाहन्थे ।